क्यानको साधारण सभा आजदेखि सुर्खेतमा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु हुँदैछ ।

क्यानले पहिलो पटक कर्णाली प्रदेशमा साधारण सभा गर्न लागेको हो । आज आइतबार र सोमबार दुई दिनसम्म चल्ने साधारण सभामा वार्षिक कार्यक्रमका साथै बजेटदेखि विवादित नेपाल टी-२० लिगको विषयमा छलफल हुनेछ ।

गत पुसमा काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी-२० लिगमा विभिन्न विवादेखि स्पट फिक्सिङसम्म भएपछि क्यानको चर्को आलोचना भएको थियो ।

पहिलो संस्करणमै निकै विवाद बनेपछि नेपाल टी-२० लिग अब कसरी अगाडि बढाउने भन्ने विषयमा साधारण सभामै छलफल गर्ने निर्णय गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।