पल शाहको बन्दी जीवन १ वर्ष पूरा, यस्तो छ जेलभित्रका कामकुरा

काठमाडौं – तनहुँ कारागारमा जेल सजाय काटिरहेका अभिनेता पल शाहले बिहीबारआफ्नो ३३औं जन्मदिन मनाए । जेल प्रशासनको अनुमतिमा काठमाडौंबाट गएका केही कलाकार र परिवारका सदस्यहरुसित उनले जन्मदिन सेलिब्रेसन गरेका थिए ।

पलको जन्मदिन मनाउन अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानिया, निर्देशक शोभित बस्नेत, संगीतकार योगेशकाजीसहित तनहुँ कारागार पुगेकी थिइन् । पल र आफ्नो तस्वीर सजिएको बर्थडे केकसमेत बोकेर गएकी पूजालाई देखेर पल हर्षित बने । तनहुँ कारागारका जेलर नारायण अधिकारीले परिवारका सदस्य र कलाकारहरुलाई जेलभित्रै जन्मदिनको समारोह गर्न आफूहरुले अनुमति दिएको बताए ।

‘निश्चित प्रोटोकलको पालना गरेर उहाँहरुले बन्दीगृहभित्रै जन्मदिन मनाउनुभयो’, अधिकारीले भने ।

परिवारका तर्फबाट पलकी ठूलीआमा जन्मदिनमा शुभकामना दिन पुगेकी थिइन् । पल आफैंले पनि जन्मदिन मनाउन केक अर्डर गरेका थिए । कारागारका कैदीहरुसमेत भेला भएर पललाई राखिएको स्थानमै दुवै केक काटियो । कारागारका कर्मचारी र प्रहरी पनि साक्षीका रुपमा उपस्थित थिए । पलले सबैलाई केक बाँडे र जन्मदिनको शुभकामना लिए ।

एक वर्षदेखि कारागारमा बन्दी जीवन बिताइरहेका पल शाह कैदीहरुसँग निकै घुलमिल भइसकेका छन् । जेलर अधिकारीका अनुसार पहिले जस्तो विक्षिप्त मानसिकतामा अहिले देखिँदैनन् । तनहुँको अदालतले मुद्दामा सफाइ दिएपछि उनको मनोबल बढेको हुन सक्ने अधिकारीको भनाइ छ । पललाई नवलपुर जिल्ला अदालतले बालयौन दुराचारमा दोषी ठहर गरी अढाइ वर्षको जेल सजाय सुनाएको थियो । तर, तनहुँ अदालतले भने निर्दोष ठहर्‍याएको थियो । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन पनि गरेका छन्, जसको सुनुवाइ पर्सि हुँदैछ ।

कारागारभित्र पललाई अन्य बन्दीहरुभन्दा फरक व्यवहार गरिँदैन । कारगारको प्रावधानअनुसार सरकारको तर्फबाट अरु कैदीले जस्तै पलले पनि दैनिक ८० रुपैयाँ र ७०० ग्राम सिधा ९चामल० पाउँछन् । त्यसैबाट उनीहरुले आफ्नो मेस चलाउनुपर्ने हुन्छ । कारागारले दिने सुविधा उपयोग गर्दै पलले ४ जना कैदीहरुसँग मिलेर छुट्टै मेस बनाएका छन् । आफ्नो व्यक्तिगत खर्चमा कानूनले दिनेभन्दा बाहेकका सुविधा लिन सकिने व्यवस्था पनि छ । त्यसअनुसार पलसहितका ४ कैदीले आफ्नो व्यक्तिगत खर्चबाट ग्यास, सिलिन्डर र भान्साका लागि चाहिने सरसामान जुटाएर अलग्गै पकाएर खाने गर्छन् ।

सुत्न प्रत्येक कोठामा ‘लो बेड’ को व्यवस्था गरिएको हुन्छ । एउटा कोठामा ३(४ वटा सिंगल ‘लो बेड’ हुन्छन् ।

कैदीबन्दीका लागि क्यारम बोर्ड, चेस, ब्याडमिन्टन, लुडो जस्ता इन्डोर गेम ९भित्र खेल्न सकिने खेल० हरुको व्यवस्था गरिएको छ । पलले फुर्सदको समयमा ती खेलहरु खेल्ने तथा पुस्तकालयमा समय बिताउने गरेका छन् । साथै कैदीहरु सुत्ने कोठामा टेलिभिजन पनि राखिएको छ । रमाइला कार्यक्रमहरु आउँदा कैदीहरु जम्मा भएर पनि हेर्ने गर्छन् ।

कारागारभित्र मोबाइल चलाउन भने अनुमति हुँदैन । कसैलाई फोन सम्पर्क गर्नु परेमा आफ्नो पालो पर्खेर पैसा तिरेर ल्यान्डलाइनबाट गर्नुपर्ने हुन्छ ।

उनलाई भेट्न विशेषतः फिल्मकर्मीहरुको धेरै आवातजावत हुने कारागार प्रशासकको भनाइ छ । केही कलाकार दोहोर्‍याइतेहेर्‍याइ पनि भेट्न आएको जेलर अधिकारीले जानकारी दिए । आफ्नो पहिचान खुलाएर आउने आफन्त र साथीभाइहरुलाई १० बजेदेखि ४ बजेसम्म भेट्न पाउने व्यवस्था गरिएको छ । पलकी बहिनी रोशनी शाह सबैभन्दा बढी कारागार धाउने गर्छिन् । त्यसबाहेक कलाकारहरु पूजा शर्मा, शोभित बस्नेत, कविता राय, एलिजा गौतम, खुश्बु खड्का, अर्जुन घिमिरे९पाँडे०, हरिश निरौला९कक्रोच०, कमलमणि नेपाल ९काकु०, गजित विष्टलगाायतका कलाकारहरु पनि पललाई भेट्न आएका छन् ।

पलविरुद्ध जाहेरी दिएकी गायिका भने अहिलेसम्म उनलाई भेट्न कारागार पुगेकी छैनन् । अदालतमा उनीहरुको केही पटक जम्काभेट भएको छ । गायिकाले अदालतमा बयान फेर्दै पलमाथिको आरोप फिर्ता लिएकी थिइन् ।

अधिकारी भन्छन्, ‘भेट्न त धेरै आउनुहुन्छ । तर, उसैलाई भेट्न अनुमति हुन्छ जोसँग पल भेट्न चाहन्छन् ।’

पल शाहले अहिलेसम्म १ वर्ष जेल सजाय गुजारिसकेका छन् । यदि पुनरावेदनबाट उनको सजाय तलमाथि भएन भने थप डेढ वर्ष उनले जेलमा बिताउनुपर्ने हुन्छ । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।