राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौं – राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान नौ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ ।
संसदीय दलको कार्यसमितिमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्री रहने व्यवस्था छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।

यही माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष चयन गरिंदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।