दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन बढ्दा पनि सरकारको बेवास्ता

काठमाडौं – पछिल्लो समय बजार मूल्य मनपरी बढ्दा पनि सरकारले बेवास्ता गरेको छ ।

चुनावपछि दैनिक उपभोग्य वस्तुको मूल्य २५ प्रतिशतले बढिसकेको छ । जसका कारण सर्वसाधारणलाई बाँच्नै मुस्किल हुने अवस्था आएको छ । यसबीचमा दाल, चामल, मैदा र आटाको मूल्य अत्यधिक बढेको छ ।

नेपाल खुद्रा व्यापार संघले कात्तिक यता आटामा प्रति किलो २५ रुपैयाँ र मैदामा २० रुपैयाँ मूल्य बढेको बताएको छ । यस्तै, चामलमा पनि प्रतिकिलो १० देखि १८ रुपैयाँसम्म बढेको संघले जनाएको छ ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले ठूला व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी ढंगले बताएको बताउनुभएको छ ।

ठूला व्यापारीले पटकैपिच्छे मूल्य बढाउने गरेको खुद्रा व्यापारीहरूको भनाइ छ । अहिले नयाँ धान बजारमा आउने बेला हो तर यही बेला चामलकै मूल्य अत्यधिक बढ्नु स्वभाविक नभएको संघको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले पनि यो वर्ष नेपालमा धान उत्पादन बढेको देखाएको छ ।

वर्षभरिलाई ६८ लाख मेट्रिक टन धान आवश्यक पर्नेमा ५४ लाख मेट्रिक टन धान उत्पादन भएको छ । १४ लाख टन धानको अपुग हुने भएपछि पछिल्लो तीन महिनामा मात्रै चार अर्ब रुपैयाँको चामल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

सरकारी संयन्त्रले अनुगमन नगर्दा ठूला व्यापारीहरूले लूट मच्चाएको खुद्रा व्यापारीहरूको आरोप छ ।