सल्यानमा भान्जाको घाँटी काटेर मन्दिरमा रगत चढाउने मामा पक्राउ

सल्यान – सल्यानमा मामाले भान्जालाई काटेर मन्दिर भित्र रगत चढाएका छन् ।

सल्यानको बनगाड कपिण्डे नगरपालिका १० माझकाँडा बस्ने ३४ वर्षिय डम्बर पुरीले सोहि गाउँका आठ वर्षिया आफ्ना भान्जा भिजन घर्तीको हत्या गरेका हुन् ।

सोहि वडाका वडा सदस्य नन्दलाल पुनका अनुसार आज आईतबार दिउँसो करिब २ बजे पुरीले आफ्नै घर आँगनमा रहेको मन्दिर भित्र लगेर भान्जाको हत्या गरेका हुन् । पुरीले खुर्पा प्रहार गरेर बालकको टाउको र शरिर अलग बनाएर हत्या गरेको वडा सदस्य पुनले बताउनुभयो । पुरीको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ ।

घटनाको सूचना लगत्तै प्रहरी चौकी बनगाड, ईलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

हत्या अभियोग लागेका पुरीलाई स्थानीय प्रहरीको जिम्मा लगाईदिएका छन् । पुरीले हत्या गरेर बालकको शव मन्दिर भित्रै गाडेका थिए । स्थानीयले पुरीलाई बाँधेर राखेका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।