धरौटीमा सन्दीप लामिछानेलाई छाड्न उच्च अदालतकाे आदेश

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा  छाड्न आदेश दिएको छ।

उनलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो।
सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो। इजलाशले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।