नक्कली सुकुमबासीलाई हटाउन माग गर्दै काठमाडौं महानगरको कार्यालयअगाडि धर्ना

काठमाडौं – उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग ऐक्यवद्धता जनाएको छ ।

मंगलबार समितिले सुकुम्बासीको नाममा भइरहेको राजनीतिको अन्त्य गरी सुकुम्बासीको नाममा भइरहेको दादागिरीको अन्त्य हुनुपर्ने बताएको हो । समितिले सुकुम्बासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा हतियार बोकेर हिँड्न नमिल्ने भन्दै महानगरले गरेको काम सही भएको जनाएको छ ।

काठमाडौं महानगरसँग ऐक्यवद्धता जाहेर गरेपछि मंगलबार महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै समितिले सही सुकुम्बासी पहिचान हुन नसक्दा उपत्यकाको नदी किनार लथालिङ्ग भएको बताएको छ । प्रदर्शनपछि बोल्दै आन्दोलित महेशलाल बज्राचार्यले सुकुम्बासीको नाममा भइरहेको दादागिरी अन्त्य हुनुपर्ने र सुकुम्बासीको तथ्यांक संकलन गरी सही सुकुम्बासीको व्यवस्थापनका साथै भूमिहीन सुकुम्बासीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले सुकुम्बासीको खोल आढेर र राजनीतिक दलहरुको छत्रछायाँमा भइरहेका गतिविधिहरुको अन्त्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले सुकुम्बासीहरुले नगरप्रहरी समक्ष हिंसात्मक गतिविधि देखाएको भन्दै सरकारलाई सुकुम्बासी व्यवस्थापन गर्ने चाहना नै नभएको आरोप लगाउनुभयो ।

उहाँले सुकुम्बासी आयोग, भूमि आयोग लगायतका सम्बन्धित निकायहरुले सुकुम्बासीको समस्या समाधान भएपछि आफ्नो सेवासुविधा नआउने डरले समस्या समाधानमा व्यवधान खडा गरेको बताउनुभयो । त्यस्तै, अर्का प्रदर्शनकारी पृथाविन्दु महर्जनले राजनीतिक दलहरुले नै सुकुम्वासीहरुलाई काखी च्यापेको आरोप लगाउनुभयो ।

उहाँले स्थानीय निकायले सही सुकुम्वासी पत्ता लगाइ उनीहरुको व्यवस्थापन गर्न लाग्दा राजनीतिक दलहरुले हस्तक्षेप गरिरहेको बताउनुभयो । उहाँले सुकुम्वासीको नाममा काठमाडौं उपत्यकाको जमिन हडप्न नपाइने बताउनुभयो ।

त्यस्तै, अर्का प्रदर्शनकारी प्रमोदनाथ श्रेष्ठले सुकुम्बासीको सही व्यवस्थापन हुनुपर्ने तर हुकुम्वासीहरुलाई हटाउन आवश्यक रहेको बताउनुभयो । उहाँले राम्रा कामका लागि उपत्यकाका जनताले सधैँ समर्थन गर्ने भन्दै सरकार र राजनीतिक दलहरुको हस्तक्षेप भइरहे आन्दोलन थप चर्काउने चेतावनी दिनुभयो ।

प्रदर्शनकारीले उपत्यकाको भूमिलाई सुकुम्वासी भूमि बनाउन पाइँदैन, सुकुम्बासीको नाममा राजनीति गर्न पाइँदैन, सार्वजनिक जग्गा अतिक्रमण गर्न पाइँदैन लगायतका नारा लगाएका थिए ।