बालेनले जंगिएर सोधे : घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?

काठमाडौं । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अल्फा बिटा कम्प्लेक्समा पुगे ।

नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ ।

मेयर बालेनले घरको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे ।

मेयर बालेनले प्रश्न गरे, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’

अल्फाबिटाका प्रतिनिधिले प्रतिप्रश्न गरे, ‘नगरपालिकामा के हुन्छ त ?’

उनले आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए ।

बालेनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाए । अनि जंगिएर बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो रु ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन रु तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’

अल्फाबिटाका अर्का प्रतिनिधिले भने, ‘बालेन सर, तपाईँ आवेगमा आएर नबोल्नुस्, हाम्रो प्रतिनिधि होइन र तपाईँ ?’

अघिदेखि बालेनसँग बहस गरिरहेका व्यक्तिले मलाई थर्काउन खोजेको भनेर बोलेनलाई अर्को प्रश्न गरे ।

तर मेयर बालेनले तत्काल प्रतिवाद गरे । आफूहरुले मिडिया स्टन्ट पनि नगरेको उनले बताए । महानगरका साढे २ लाख घरमा गएर सूचना दिन नसक्ने भएर पत्रिकामा सूचना निकालेको र अवैध संरचना हटाउनुपर्ने बताए ।

व्यावसायिक भवनहरुले आफ्नो पार्किङ हुनुपर्ने बताए । महानगरका कर्मचारीले पनि आफूहरुको अफिस नजिकै भएकाले नक्सा लिएर आउन आग्रह गरे ।

तर अल्फाबिटाका प्रतिनिधिले लिखित दिए वकिलसहित आउने बताए । साथै आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यावसायीलाई सम्मान गर्न उनले आग्रह गरे । -onlinekhabar