सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाटको विषय टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटरामा सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा संसदबाट बिहीबार नै पारित गरेर पठाउन लागिएको नागरिकता विधेयक, प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचन, गठबन्धन दलबीच सिट बाँडफाँडलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ।

सिट बाँडफाँड कार्यदलमा भएको प्रगति विवरण पनि बैठकमा पेश गर्ने एक नेताले जानकारी दिए।साउन २० गते गठन भएको कार्यदलले सिट बाँडफाँडको ठोस खाका तयार गर्न नसकेपछि गठबन्धन दलका शीर्ष नेताहरु नै छलफलमा जुटेका हुन्।

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन र गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम तथा दलीय संवेदनशीलताका आधारमा सिट बाँडफाँटको टुंगो लगाउने भनिएको थियो।

सिट बाँडफाँटका लागि बनाइएको ११ सदस्यीय कार्यदलमा संयोजक कृष्णप्रसाद सिटौलासहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै, माओवादीबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

तर बुधबार बसेको कार्यदलको बैठकमा कांग्रेसबाहेकका दल गत निर्वाचनको मत परिणामलाई आधार मान्न तयार नदेखिएपछि कार्यदलभित्र कुरा मिल्न नसकेको हो। कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरुले छलफल गर्ने र सिट बाँडफाँडको टुंगो लगाउने तयारी गरिएको हो।