काठमाडौं – फ्रान्स महिला टिमले शनिबार राति साविक विजेता नेदरल्यान्ड्सलाई थपिएको समयमा १–० ले हराउँदै महिला युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । यससँगै नेदरल्यान्ड्सको उपाधि रक्षा गर्ने यात्रा समाप्त भएको छ ।
इभ पेरिसेटले १०२औं मिनेटमा पेनाल्टीमा गरेको गोल फ्रान्सलाई पहिलोपटक सेमिफाइनलमा स्थान बनाउन सफल भयो । काडिडियाटो डियानीलाई नेदरल्यान्ड्सकी डोमिनिक जेन्सेनले फाउल गरेपछि फ्रान्सले पेनाल्टी अवसर पाएको थियो । पेनाल्टी निर्णय लिनका लागि रेफ्री इभाना मार्टिनसिचले भिडियो सहायक रेफ्रीको साथ लिनु परेको थियो ।
फ्रान्स आफ्नो पछिल्लो पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । यूरो २०१३, विश्वकप २०१५, ओलम्पिक २०१६, युरो २०१७ र विश्वकप २०१९ मा फ्रान्स क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । तर, फ्रान्सको त्यो पर्खाइ शनिबार राति समाप्त भएको छ ।
अब महिला युरोपियन च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ । फ्रान्सले अब जर्मनसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनी यस प्रतियोगितामा सबैभन्दा धेरै ८ पटक उपाधि जित्ने टिम हो । अर्को सेमिफाइनलमा आयोजक इङ्ल्यान्ड र स्विडेनले प्रतिस्पर्धा गर्नेछन् ।
फ्रान्स यसअघि एकपटक मात्रै ठूला प्रतियोगिता २०११ को विश्वकपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो ।