सुर्खेतमा जफत भएका सवारी साधन लिलाम बिक्रि गर्ने तयारी

सुर्खेत – कर्णाली प्रदेश राजधानी सुर्खेतमा जफत भएका सवारी साधन लिलाम बिक्रि गर्ने तयारी गरिएको छ । कर्णाली सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाको अध्यक्षतामा सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकबाट जफत भएका सवारी साधनको व्यवस्थापनको लागि “कसुरजन्य सम्पति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७०“ वमोजिमको प्रकृया अविलम्ब अगाडी बढाउने निर्णय गरिएको छ ।

यस्तै भाडादर निर्धारण÷कायम÷समायोजनको लागि प्रदेश यातायात कानून नवनेसम्मको लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा गठित उपसमितिले पेश गरेको प्रतिवेदनको आधारमा सरोकारवालाहरुलाई सहभागि गराई यथाशिघ्र भाडा निर्धारण÷कायम÷समायोजन गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेललाई लेखि पठाउने निर्णय भएको हो ।

त्यस्तै प्रदेशमा सञ्चालन हुने अटो रिक्साको व्यवस्थापनको लागि यातायात व्यवस्था कार्यालय सुर्खेत वा सम्बन्धीत स्थानीय तहमा दर्ता भएका अटो रिक्साको विवरण प्रदेश ट्राफिक कार्यालयलाई उपलब्ध गराउने र प्रदेश ट्राफिक कार्यालयले सो को उचित व्यवस्थापन गर्ने, गराउने पनि बैठकले निर्णय गरेको छ ।

बैठकमा बोल्दै मन्त्री रोकायाले निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । उक्त निर्णय कार्यन्वयन भएमा सुर्खेतमा विभिन्न कारणले प्रहरीमा जफत भएका सबै सवारी साधन प्रक्रिया अनुसार लिलाम बिक्रि हुनेछन् ।

मन्त्री रोकायाका स्वकीय सचिव अमर बहादुर रोकायाका अनुसार बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशका एसपी भुवनेश्वर तिवारी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदम ब. बिष्ट, जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतका चन्द्र ब. खत्री, यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाई, सुर्खेत जिल्ला अदालतका तहसिलदार मोतिप्रसाद देवकोटा लगाएतको सहभागीता थियो ।