संसदीय छानबिन समितिका यी हुन् सदस्‍य, यसरी हुन्छ काम

काठमाडौं – प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको छ।

उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ। संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई गराए। समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य छन्। समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ।

समितिलाई १० दिनको कार्यावधि दिइएको छ। समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ। प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो।

करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरुपमा कुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराएका छन्। समिति गठनपछि अर्थमन्त्री शर्माले संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्। अर्थमन्त्री शर्माले समितिलाई काम गर्नमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने पनि बताएका छन्।