संसदमा बोलेर राजीनामा दिने मुडमा अर्थमन्त्री शर्मा


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि आज संसदमा आफ्नो धारणा राख्ने भएका छन्।

सत्ताधारी नेताहरुबाटै राजीनामाको दबाब बढेपछि शर्माले सम्भवतः आजै पदबाट राजीनामा दिनसक्ने शर्मानिकट स्रोतले जानकारी दिएको छ। प्रतिनिधिसभाको बैठक अहिले ११ बजे बस्दैछ। सोही बैठकमा शर्माले आफ्ना कुरा राख्नेछन्।

आज बिहान नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पूर्व स्थायी समितिका सदस्यको बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन्। बैठकमा सहभागी माओवादी नेता हरिबोल गजुरेलले अर्थमन्त्री शर्माले आज आफ्नो कुरा राख्ने र त्यसपछिको अवस्था हेरेर अघि बढ्ने तयारी रहेको बताए।

अर्थमन्त्रीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच हिजो साँझ झण्डै एक घण्टा कुराकानी भएको थियो। हिजो बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुले मन्त्री शर्माको राजीनामा माग गरेका थिए। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेको छ।

२०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ। बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि उनी थप शंकाको घेरमा छन्।