राष्ट्रियसभामा आज बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौं – राष्ट्रियसभा बैठकमा आज बजेटको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने भएका छन्।

बिहान ११ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, श्रम, रोजगार तथा समाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रीले जवाफ दिने संसद सचिवालयले जनाएको छ।

यस्तै महिला, बालिका तथा जेष्ठ नागरिक, कृषि तथा पशुपंक्षी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। बैठकमा वन तथा वातावरण, शहरी विकास, उद्योग वाणिज्य तथा आपुर्ति र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले पनि मन्त्रालयगत शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यसैबीच संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज विभिन्न विधेयक तथा प्रतिवेदनहरू पेश हुँदैछन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ।

प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ छलफलका लागि पेश गर्ने कार्यसूची छ। यस्तै प्रधानमन्त्री देउवाले नै “लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।