सुर्खेतकी दोहोरी गायिका दिलमायाको शंकास्पद मृत्यु, एकजना पक्राउ

काठमाडौं – दोहोरी गायिका दिलमाया सुनार नेपालटारस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा फेला परेकी हुन् ।

सुर्खेत घर भएकी उनले शुक्रबार राति काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको भन्दै सामाजिक सञ्जालमामा स्टाटस पनि लेखेकी थिइन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ ।

गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।

यसअघि, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनमा शोक व्यक्त गर्दै दिलमायाको निधनले आफू स्तब्ध भएको बताएका छन् ।