सुनको लौरोले फैलाएको तरङ्ग

झापा – बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँले सुनको लौरो उपहार पाएको बारेमा अहिले सर्वत्र चर्चाको विषय बनेको छ। चर्चासँगै यसले देशको सुरक्षा संयन्त्रभित्र तरङ्ग नै उत्पन्न गरिदिएको छ। दुबईका राजकुमार भनिएका शेख मोहम्मद जुमाले मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई उपहार दिएको लौरो सुनको सक्कली वा नक्कली हो भन्ने सर्वत्र चासोको विषय बनेको हो।

सुनको लौरो कसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरियोरु त्यसको चेकजाँच भयो कि भएन भन्ने सबैको मनमा पक्कै प्रश्न उब्जिएको होला। तर, यथार्थ भने फरक रहेको पाइएको छ।

मोक्तुमले प्रसाईँलाई शुक्रबार भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सुनको जस्तै देखिने धातुको लौरो उपहार दिएका थिए। लौरो पहेँलो रङ्ग रहेको र त्यसमा सुनको जलप लगाएको हो। लौरो प्लेटिनम कोटेड हो। मूर्तिमा लगाइने पहेँलो सुनजस्तै देखिने धातुले बनेको हो।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले, ‘मिडियामा सुनको लौरो पाएको समाचार पढदाँ हामी नै अचम्मित भएका छौँ, यथार्थ कुरा नबुझेर कसरी मिडियामा समाचार आयो हामी नै पेट मिचिमिची हाँसिरहेका छौँ।’ उपहार पाएको लौरो सुनको नभएको उनले प्रस्ट्याएका छन्।