काठमाडौं – कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटी माग भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । सो धरौटी तिरेपछि फुर्वा रिहा हुनेछन् ।
आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए । प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् ।
एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले जानकारी दिए ।
यसैबीच अभिनेत्री मिरुना मगरले फुर्वा लामाले आफूलाई पटक पटक दुर्व्यवहार गरेको कारण प्रतिकारमा उत्रिएको बताएकी छन् । एक युट्युब च्यालनसँग कुराकानी गर्दै उनले अति भएर दुर्व्यवहारको प्रतिकार गरेको बताएकी हुन् ।