सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक कर्मचारीको मृत्यु

 

काठमाडौं – काठमाडौंको सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जना कर्मचारीको मृत्यु भएको छ।
पाल्पा रम्बा गाउँपालिका ५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्कीको मृत्यु भएको हो।

बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा उहाँको को मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो।

उनको टाउकोमा हाँगा खस्दा गम्भीर घाइते भएको मैनालीले बताउनुभयो। उपचारका लागि उनलाई तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो।

उपचारको क्रममा राति सवा ११ बजे कार्कीको मृत्यु भएको मैनालीले जानकारी दिनुभयो। शवको पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल राखिएको छ।