काठमाडौं – गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समय अभावका कारण सर्ने भएको छ ।
संघीय सरकारको मन्त्रीपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो ।
तयारी अभावको कारण देखाउँदै सरकारले नवौं राष्ट्रिय खेलकुदलाई केही महिनाका लागि सार्ने तयारी गरेको हो ।
राखेप स्रोतका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोजको नयाँ मितिमा आयोजना गर्ने तयारी छ ।
मन्त्रीपरिषद्ले जेठ २२ देखि प्रतियोगिता आयोजना गर्ने बताएपनि आवश्यक तयारी अघि बढ्न सकेको थिएन । निकै छोटो समयको तयारीमा प्रतियोगिता गर्ने निर्णय सरकारले गरेको थियो ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा जसरी फास्ट ट्रायकबाट सामान खरिद गरेर भएपनि नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने खेलकुद मन्त्रालय र राखेपको तयारी थियो । तर सरकारबाट आवश्यक सहयोग नभएपनि प्रतियोगिता सर्ने निश्चित देखिएको हो ।
प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको नवौं संस्करण २०७७ मा हुनुपर्ने हो । तर कोभिड १९ को प्रभाव र सरकार परिर्वतनका कारण प्रतियोगिता समयमै हुन सकेन ।