काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछिको मतपेटिका गठबन्धनले साट्नसक्ने भएकाले सचेत रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, अस्ति एउटाले भन्दै थियो ०६४ सालको जस्तै गर्नुपर्छ भनेर। सिरहामा जस्तो बत्ती निभाउने बाकस साट्ने, चितवनमा जस्तो हार्न लागियो भनेर बाँदरझैँ उफ्रेर मतपत्र च्यात्ने, उनीहरूको प्रयास त्यस्तो हुँदैछ। उनीहरू बदमासी गर्न खोज्छन्। हामी त्यसतर्फ सचेत हुनुपर्छ।’
पाँच दलीय गठबन्धनले आफ्नै नैतिकताको ख्याल नगर्ने भएकाले एमाले शान्तिपूर्ण वातावरण गर्नुपर्नेमा लाग्नुपर्ने उनको भनाइ छ।
कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने, ‘गठबन्धनले नैतिकता बुझ्दैनन्। हामी उनीहरूको बेथिति रोक्ने तयारीमा लाग्नुपर्छ। आँखाबाट बाकस ओझेल पर्न दिनु हुँदैन। लाल छाप उक्काइदिन्छन्। पछि निर्वाचन आयोगले हावाले उठाइदियो भनेर प्रमाणित गर्छ। बाकस हाम्रो आँखा अगाडि हुनुपर्छ। झ्याल र ढोका बाहिर हाम्रो हुनुपर्छ। हाम्रो सबैतिरबाट पहरेदार बस्छौँ। भोक र निद्रा भनेर बस्दैनौँ। अबीर जात्रापछि सुतौँला।’
उनले अदालतले बनाइदिएको गठबन्धनलाई एमालेले जनताको आँगनमा लगेर पछार्ने दाबी गरे। ‘हामी प्रतिपक्षमा छौँ, गठबन्धन छ भन्ने भ्रम हामीले हटाइदिए हुन्छ। स्यालहरूको मोर्चाले गरेर हात्तीको सिकार गर्न सक्दैन। यो मोर्चाले ठूलो केही गर्न सक्दैन’ उनले भने, ‘प्रचण्डजी हामीले बनाइदिएको भाँडो हेरेर बसिराख्नुभएको छ। भाँडो रित्तिसक्यो त। जनप्रतिनिधिहरू एमाले प्रवेश गरेको देख्नुभएको छ कि छैन ? भाँडो रित्याउने होइन, पुसपाछ गरेर झिक्छौँ।’
त्यस्तै, अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई त्यो कुनै पार्टी नै नभएको भनी हेँला होचो गर्नसमेत बाँकी राखेनन्।
ओलीले भने, ‘पार्टी बनेको छैन। चुनाव अघिको फुरफुर हेरौँ न। एमालेलाई चौथो दल बनाइदिन्छौँ रे। हामीले टाँसिदिएको जुँगामा देखाएर बस्छन्।’
त्यस्तै, उनले नेपाली कांग्रेसले पाँच वर्षअघि २३ मा झारेको बताउँदै अबको संघीय चुनावमा एमालेले उसलाई १३ सिटमै सीमित गरिदिने दाबी गर्न पनि भ्याए।
‘६० देखिमाथि कांग्रेसलाई भोट हाल्दैनन्। भत्ता खाने वृद्धवृद्धाले किन ? कांग्रेसलाई भोट हाल्थ्ये। गठबन्धनलाई युवाहरूले पनि भोट हाल्दैनन्’ ओलीले भने, ‘अब हामी फेरि सिंहदरबारको मूलगेटबाट प्रवेश गछौँ। जालझेल तिकडम तोडेर जानुपर्छ। केही महिनादेखि सरकार ढालेर देशलाई ओरालो गतिमा धकेलिँदैछ। यस निर्वाचनबाट प्रदेश र संसद् निर्वाचनको झलक दिनुपर्छ। उनीहरूको सात्तो जावस् न। निद्रामा पनि आयो एमाले आयो भन्ने बनाउनुपर्छ।’
अदालतबाट बनेको गठबन्धनको कुनै अर्थ नभएकाले आजको जनमतले एमाले बहुमत स्पष्ट रहेको दाबी उनको छ। ‘चुनावमा जाँदा कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गर्ने रे। आफूले गरेको त केही भए पो भनोस्’ ओलीले भने, ‘प्रचण्ड एण्ड कम्पनी कसरी जनताको अगाडि मुख लिएर जान्छन्रु प्रचण्ड माधव जस्तो हामी भएको भए घरबाट निस्कन पनि सक्दैनथ्यौँ।’ thahakhabar