‘एक्लाएक्लै चुनावमा जाँदा सकिने डरले प्रचण्ड र माधव गठबन्धनको मन्त्र घोकिरहेका छन्’


पर्वत – नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले चुनाबसँग डराएर गठबन्धनको गायत्री मन्त्र घोकिरहेको बताएका छन्।

एमाले पर्वतले शनिवार बिहान आयोजना गरेको नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रममा ज्ञवालीले गठबन्धनबिना आउँदो स्थानीय तहको निर्वाचनमा जाँदा आफूहरू सकिने भएका कारण प्रचण्ड र नेपालले गठबन्धनको मन्त्र उच्चरण गरिरहेको दाबी गरेका छन्।

‘प्रचण्ड र माधव नेपालले कांग्रेससँग टाँसिएर निर्वाचनमा जान बिहान उठेदेखि बेलुकासम्म पनि गठबन्धनको गायत्री मन्त्र घोकिरहेका छन्। दिनदिनै उनीहरूको पार्टी उदाङ्गो हुँदै गएका छन्,’ उपमहासचिव ज्ञवालीले भने, ‘पहिले त चुनाव गराउनै खोजेनन्। निर्वाचन आयोग, एमाले र कांग्रेसका केही नेताले समयमै निर्वाचन गर्न दबाब दिएपछि निर्वाचनमा जानै पर्ने बाध्यतामा परे। तर गठबन्धनबिना गए सकिन्छौँ भनेर मन्त्र घोकेका छन्।’

एमाले १० दलीय गठबन्धनसँग भिड्न समेत तयार रहेको अवस्थामा पाँच दलीय गठबन्धन सामान्य कुरा भएको र त्यो गठबन्धनले एमालेको एकता झनै बलियो हुने उनले जिकिर गरे। चुनावसम्मै गठबन्धन रहे गठबन्धनभित्रकै दलहरूको अविश्वासले असर पार्दा त्यसको फाइदा पनि एमालेले नै लिने ज्ञवालीले दाबी गरे।

‘पाँच दलीय होइन कि हामी त १० दलीय गठबन्धनसँग पनि भिड्न तयार छौं। उनीहरूको गठबन्धनले हामीमा एकता हुन्छ,’ उनले भने, ‘बरु त्यही गठबन्धनमा अविश्वास छ, जसले कार्यकर्ताहरूले पनि भने अनुसार नगर्दा त्यसको फाइदा पनि एमालेलाई नै हुन्छ।’

कांग्रेससँग भन्दा पनि माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति आक्रोशित देखिएका उपमहासचिव ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्ने बेलामा प्रचण्डले निर्वाह गरेको भूमिकाप्रति असन्तुष्टि जनाए। पार्टी र पद जोगाउन गठबन्धनबाट बाहिरिन नसक्नेले भित्र कांग्रेससँग मिलेर बाहिर कार्यकर्ता उफारेर सडकका रूख र सडक भत्काउनु गलत भएको बताए। -thahakhabar