सुर्खेत – जिल्लाका निर्वाचित वडाअध्यक्षहरु मध्ये सबै भन्दा कान्छा वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका कार्किको शुक्रबार राती १०ः३० बजे बाँसवारी न्यूरो अस्पताल काठमाडौंमा उपचारकै क्रममा निधन भएको हो ।
कार्की भेरीगंगा नगरपालिक वडा नं. १ का नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित वडाध्यक्ष हुन् । २०४८ सालमा भेरीगंगामा जन्मिएका कार्की एक कुशल र निडर व्यक्तिका रुपमा परिचित थिए । राजनिति सगै सामाजिक क्षेत्रमा सक्रिय वडाअध्यक्ष कार्की जेसिज, युवा सञ्जाल, सहकारी लगायतका क्षेत्रमा सक्रियतापूर्वक लागेका थिए ।
कम उमेरमै वडाअध्यक्ष बनेका कार्की सुर्खेत जिल्लामा निर्वाचित सबै वडाअध्यक्षहरु मध्ये सबैभन्दा कान्छा वडाध्यक्ष हुन् । शान्त स्वभावका कार्की विद्यार्थी जीवनकालबाटै सक्रिय राजनीतिमा सक्रिय थिए । गत फागुन ८ गते कार्की सवार मोटर साईकललाई फोर्सले भ्यानले ठक्कर दिएको थियो ।
रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु बजारदेखी पश्चिमतर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
फागुन ८ गते आइतबार दिउँसो करिव २ बजेर ४७ मिनेटको समयमा घटना भएको थियो । घटनाका चालक निमराज रसाईली फरार रहेको र खोजी कार्य जारी रहेकोे प्रहरीको भनाई छ । घटनामा वडा अध्यक्ष सवार मोटरसाईकललाई फोर्स गाडीले ठक्कर दिँदा भेरीगंगा–१ का वडा अध्यक्ष कार्कीसहित वाईसील भेरीगंगाका अध्यक्ष भुपेन्द्र शाही घाइते भएका थिए । शाहीको अनुहार र खुट्टामा चोट लागेको छ ।
वडा अध्यक्ष कार्की र शाहीलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो । टाउकोमा गम्भिर चोट लागेर बेहोस भएपछि उनको हतारहतार आइतबार रातीनै सल्यक्रिया गरिएको थियो ।
७२ घण्टापछि होस खुल्ने चिकित्सकको भनाई रहेको थियो तर यहाँ होस नखुलेपछि सिम्रिक एयरको हेलिकोप्टर रिजर्भ गरी हतारहतार थप उपचारका लागि काठमाडौ पठाइएको थियो । विरामीको अवस्था थप जटिल बनेपछि भेण्टिलेटर राखेर उपचार गरिएको थियो । प्रदेश अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं बाँसवारी न्यूरो हस्पिटल पठाइएको थियो ।