पल शाह प्रकरण : यस्तो हुनेछ अनुसन्धान र अभियोजनको बाटो

काठमाडौं – एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले यस प्रकरणको अनुसन्धान सुरु गरेको छ ।

विवाहको प्रलोभनमा पारी आफ्नी नाबालिग छोरीसँग यौन सम्बन्ध स्थापित गरेको भन्दै गायिकासमेत रहेकी नाबालिगको बुवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दिएका थिए । जाहेरीलगत्तै प्रहरीले ती नाबालिगको स्वास्थ्य परीक्षणसमेत गराइसकेको छ ।

मोडल तथा नायकसमेत रहेका पल शाह भनेर चिनिने पूर्ण विक्रम शाहले आफ्नी १७ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको कारण कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले यस सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ । जाहेरी दर्ता भएसँगै तनहुँ प्रहरीले बुधबार नै तनहुँ जिल्ला अदालतबाट पलविरुद्ध पक्राउ पूर्जीसमेत लिइसकेको छ । तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिन बहादुर कुँवरका अनुसार बुधबार नै पलविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ ।

अदालतबाट पक्राउ पुर्जीसमेत प्राप्त भइसकेकाले प्रहरीले यतिबेला पल शाहको खोजी सुरु गरिसकेको छ । तनहुँ प्रहरीले बुधबार नै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर पक्राउका लागि सहजीकरण गरिदिन आग्रह गरेको छ । प्रहरीले खोजे गरेलगत्तै पल शाह भने फरार भएका छन् । ​