काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको विश्वासपात्र मानिने पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी यसपटक केन्द्रीय सदस्यमा एक मतले पराजित भए । कर्णाली प्रदेशतर्फको केन्द्रीय सदस्यमा उनले २ हजार १ सय ९९ मत ल्याउँदा विजयी उम्मेदवार कर्णबहादुर बुढाले २ हजार २ सय मत ल्याए ।
१४ औं महाधिवेशनको निर्वाचन प्रक्रियाबाट अलग रहने घोषणा गरेका वरिष्ठ नेता पौडेल मतदान गर्न गएको भए सम्भवतः थानीको हार हुने थिएन । थानीमात्रै होइन, पौडेलसँग निकट रहेर राजनीति गरेका धेरै नेता कार्यकर्ताको अहिले विचल्ली भएको छ ।
कांग्रेसवृत्तमा ‘रामचन्द्रको गुप्तवासले कार्यकर्ताको उठीबास’ भएको चर्चा छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा रहँदा सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रतिस्पर्धा गरेका २ तिहाई पदाधिकारी र सदस्य निर्वाचित हुने देखिएको छ ।
सभापतिसहित देउवा पक्षले १ उपसभापति र आठमध्ये ६ सहमहामन्त्री जितेको छ । खुला केन्द्रीय सदस्यमा ३५ मध्ये देउवा प्यानलका २५ जना विजयी भए । खुला महिला केन्द्रीय सदस्यमा ९ मध्ये ८ जना देउवा प्यानलबाट निर्वाचित भएका छन् । खुला मधेसीतर्फ ५ मध्ये ४ देउवा प्यानलका विजयी हुँदा अन्य क्लस्टरमा पनि उस्तै अवस्था छ ।
रामचन्द्रको कठोर निर्णय
महाधिवेशनको प्रतिस्पर्धामा देउवा र डा। शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिए पनि कोइराला पक्षका सबैजसो उम्मेदवार राजनीतिकरुपमा पौडेलसँगै जोडिएका थिए । अन्तिम समयसम्म संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास जारी नै थियो ।
लामो समयसम्म पौडेलसँग निकट रहेका नेता कार्यकर्तालाई पौडेल नै सभापतिको उम्मेदवार भइदिए हुन्थ्यो भन्ने लागेकै थियो । यद्यपि नेताहरुबीच सहमति जुटेन । पौडेलले निर्वाचन प्रक्रियाबाट अलग हुने निर्णय गरे तर आफ्नो समूहका नेताहरुको व्यवस्थापनबारे चासो दिएनन् ।
त्यसो त पौडेल पक्षका नेताहरुले शेखर प्यानलमा पर्याप्त स्थान पाएकै हुन् । यद्यपि पौडेल स्वयं मौन बसिदिँदा त्यसको राजनीतिक लाभ देउवा पक्षले लियो । पौडेललाई मियो मानेर हिँडेका नेता कार्यकर्ता निराश बनेका छन् । @nepalpress