देशभर चिसो बढ्यो, कतै शित त कतै हुस्सु, जुम्लाको तापक्रम माइनसमा झर्यो

पछिल्लो पटक काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टाको तापक्रम न्यूनतम ५.४ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.८ डिग्री रहेको छ । विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो लुगा लगाउनुपर्छ,’ उनले भने ।

देशभर चिसो बढेसँगै कतै सित त कतै हुस्सु लाग्न थाल्यो, जुम्लाको तापक्रम माइनस ४‍.७ मा झरेको छ । जुम्लाको तापक्रम माइनस ४.७ डिग्री मापन भएको हो । त्यहाँ अधिकतम तापक्रम १५.९ डिग्री रहेको छ । तराईमा पनि चिसो बढेको छ । तराईका जिल्लामा हुस्सु लाग्न थालेको हो । धेरै गर्मी हुनेमध्येको नेपालगन्जमा न्यूनतम तापक्रम १०.३ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम २४ डिग्री रहेको छ । विराटनगरको न्यूनतम तापक्रम ११.५ र अधिकतम २५.३ मापन भएको छ ।

‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ,ु महाशाखाले भनेको छ । आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ । दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।