कोरोनाको नयाँ भेरियन्ट भारतमा देखिएको पुष्टि

काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी देश भारतमा देखिएको पुष्टि भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले बिहीवार दिउँसो पत्रकार गरी सम्मेलन जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार भारतमा पहिलोपटक ६६ र ४६ वर्षका दुई पुरुषमा कोरोना भाइरसको यो नयाँ भेरियन्ट फेला परेको हो । मन्त्रालयका अनुसार अरू शहरमा पनि ओमिक्रोनको परीक्षण शुरू गरिएको छ । यसअघि बिहीवारै भारत आएका चारजना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

बुधवारदेखि लागू हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरिसकेको छ । कोभिड पुष्टि नहुने यात्रुले ७ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्ने र आठौं दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ ।

नेपालमा उच्च सतर्कता
कोरोनाभाइरसको यो नयाँ भेरियन्ट भित्रिन सक्ने जोखिमलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका कोरोना भाइरसको जीन सिक्वन्सिङ कार्यलाई पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको सरकारी दाबी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकारीहरूका अनुसार अब पहिलेको तुलनामा चाँडोचाँडो जीन सिक्वन्सिङ गरिनेछ । दक्षिण अफ्रिकामा पहिलोपटक देखा परेको कोरोना भाइरसको उक्त भेरियन्ट हालसम्म विभिन्न देशहरूमा पुगिसकेको पाइएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।