चितवन – नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको छ।चितवनमा १० औँ महाधिवेशनमा जारी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिलोपटक मतदान गरेर मतदानको सुरूआत गरेका हुन्।
त्यसपछि अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलले पनि मतदान गरेका छन्।
राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर २ बजे मतदान सुरु गर्ने भनिएको थियो । तर समयमा हुन सकेन ।
मतदान हुने आशामा प्रतिनिधिहरु रातभर लाइनमा बसे पनि बिहान मात्र मतदान प्रक्रिया सुरू भएको हो।
निर्वाचन आयोगले जारी गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुँदैछ।
त्यस्तै, केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ भौगोलिक क्षेत्र खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन हुनेछ। अरू सबै पदमा सर्वसम्मत भएको छ।
अध्यक्ष पदका लागि केपी ओली र भीम रावल गरी दुई जनाले उम्मेदवारी दिएका छन् भने ६ जना उपाध्यक्षका लागि ७ जना र ७ जना सचिव पदका लागि ९ जनाले प्रतिस्पर्धा गर्नेछन्।
केन्द्रीय समितिमा ८४ जना खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ।