एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव

 काठमाडौं—जनताको मौलिक हक मानिएको स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा न्यून मात्रै चिकित्सक कार्यरत छन् । अझ यो कोभिड महामारीका समयमा चिकित्सक कम हुँदा सेवा प्रवाहमा ठुलो समस्या आएको छ ।

सरकारी सेवामा करिब १३ सयको संख्यामा चिकित्सक कार्यरत रहेका छन् । सो संख्यामध्ये ३ सय बढी चिकित्सक कोरोनाबाट संक्रमित भएका छन् भने २ सय बढी क्वारेन्टाइनमा रहेको सरकारी तथ्यांक छ । देशभर ३५०७ वटा सरकारी स्वास्थ्य संस्था छन् । ती स्वास्थ्य संस्थामा हाल करिब १३ सय मात्रै चिकित्सक कार्यरत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा पनि कतिपय सेवा अवधि सकिएर विदामा छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति दश हजार जनसंख्यामा ३ जना चिकित्सकसहित २३ स्वास्थ्यकर्मी चाहिन्छ । उक्त मापदण्डलाई आधार मान्दा एक चिकित्सकको भागमा ३ हजार जनसंख्या आवश्यक पर्छ । वि.सं. २०६८ को जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ ।

तर, अहिले ३ करोड बढी जनसंखया भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । उक्त जनसंख्याअनुसार हाल एक चिकित्सकको भागमा २३ हजार बढी जनता पर्छन् । झण्डै ४० वर्ष अघिदेखि एमबीबीएस अध्ययन सुरु भएको हो । यस बीचमा नेपालमा करिब २४ हजारको संख्यामा डाक्टर उत्पादन भइसकेका छन् । तर, यति ठूलो जनशक्ति उत्पादन हुँदा समेत सरकारले साढे तीन सयको संख्या थप गर्न सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १६ सय ५० चिकित्सकको दरबन्दी रहेको छ । तर, उपलब्ध भने १३ सयको संख्यामा मात्रै रहेको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाले जनाएको छ । अभाव भएका चिकित्सकमा ८ औं तहदेखि १२ औं तहसम्मका छन् । देशभरका सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको अभाव छ ।

सरकारले हरेक अस्पतालमा विशेषज्ञ चिकित्सक पु¥याउने लक्ष्य लिएको छ । तर, करिब चार सयभन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ । झण्डै तीन सयको संख्यामा हाल विशेषज्ञ चिकित्सक छन् ।

२०५१ सालदेखि सुस्तायो स्वास्थ्य

डा. सेनेन्द्रराज उप्रेती पूर्व स्वास्थ्य सचिव

वि.सं. २०५१ बैशाख ८ गते स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाको संगठन संरचनामा ठूलो परिवर्तन गरेको थियो । सोही समयमा चिकित्सकको दरबन्दी थपघट भयो । त्यसयता चिकित्सक सम्बन्धी ठूलो जनशक्तिको थपघट भएको छैन । दुई वर्षअघि नेपाल चिकित्सक संघको आन्दोलनका कारण २ सयको संख्यामा चिकित्सकको दरबन्दी थप गरिएपनि त्यसयता दरबन्दी थप गर्ने विषयमा चर्चासमेत भएको छैन । हेल्थअावाज ।