काठमाडौं । राष्ट्रिय जनगणना– २०७८ मा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गरिने भएको छ ।
तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर लिपुलेक कालापानी क्षेत्रमा जनगणना हुने जनाएको छ । विभागले अनुमानसहितको नतिजा प्रकाशित गर्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।
उक्त क्षेत्रमा जनगणनाको लागि राष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विकल्प तीन वटा छन्, हाम्रो भूमिमा भारतीय सेनाले हामीलाई छिर्न नदिएको अवस्थामा सेना लगेर जनगणना गराउने, जुन सम्भव छैन, दोस्रोमा केही नगर्ने, तेस्रो, कुटनीतिक पहल भइरहेको छ ।’
बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनामा ४० हजार गणकले घर–घरमा पुगेर तथ्याङ्क लिनेछन् । उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसतः एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिनुभयो ।
राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने भएका छन् ।
जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गर्नुभयो । एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने श्रेष्ठले बताए ।
अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मङ्सिर मशान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ ।