सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएकाहरुको सपना पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ‘सहिदहरुकै कारण कर्णाली प्रदेश स्थापना भएको हो’, उनले भने, ‘हाम्रो प्रदेश आन्दोलनबाटै बनेको हो, त्यसैले आज प्रदेश स्थापना दिवस मनाउँदैछौं ।’ उनले सहिद परिवारका माग क्रमशः सरकारले पूरा गर्दै आएको बताए ।
‘प्रदेश प्राप्तिका लागि बलिदान गर्नुहुने महान सहिदहरुको सम्झना एवं सम्मान र प्रदेश प्राप्तिको खुशियाली मनाउन प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना तथा सहिद दिवसका रुपमा मनाउने र कर्णाली प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको सर्वविदितै छ,’ उनले भने, ‘कोरोनाले सिर्जना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनलाई व्यापक हर्षोल्लासका साथ मनाउन सक्ने अवस्था हाम्रा सामू छैन, त्यसैले भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफ्नो घरमा दीपावली लगायतका कार्यक्रम गर्न सबैमा आग्रह गर्दछु । ’
प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ ४ अर्थात आजकै दिनलाई प्रदेश स्थापना तथा सहिद दिवस मनाउने निर्णय गरेको थियो । प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । २०७२ साल साउन–भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका यामबहादुर वीसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले सहादत प्राप्त गरेका थिए ।
तत्कालिन सरकारले मृतकलाई सहिद घोषणा गर्नुका साथै अलग प्रदेश स्थापनाको माग पूरा गरेपछि आन्दोलन स्थगित भएको थियो । कर्णाली सरकारले यही दिनको सम्झनास्वरुप प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
भेरी–कर्णाली क्षेत्रमा आन्दोलन उत्कर्षमा पुग्न थालेपछि २०७२ भदौ ४ गते प्रमुख राजनीतिक दलबीच प्रस्तावित ६ प्रदेशको सीमाङ्कन पुनरावलोकन गर्न बाध्य भएका थिए ।
अन्ततः ७ प्रदेशसहितको सङ्घीय संरचना निर्माण गर्ने समझदारी अनुरुप साबिक कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोट, भेरीका दैलेख, सुर्खेत र जाजरकोट, राप्तीका सल्यान र रुकुम (पश्चिम भाग) समेटेर ६ नम्बर प्रदेश घोषणा भयो । जसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरिसकेको छ ।