काठमाडौं – मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
केही दिनयता लगातार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु छलफलमा जुटिरहेका छन्। आज पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेताहरुबीच एक घन्टादेखि छलफल चलिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। गठबन्धनमा आबद्ध दलहरुबीच आज मन्त्रालयको भागबण्डा टुंग्याउने र भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ। आजको बैठकले मन्त्रालयको विषयमा टुंग्याउने सम्भावना रहेको नेकपा एकीकृत समाजवादीका नेता डा. बेदुराम भुसालले जानकारी दिए। एकीकृत समाजवादी दल दर्ता भएपछि पहिलोपटक गठबन्धनका औपचारिक बैठक बसे पनि केही दिनदेखि अनौपचारिक छलफलहरु जारी थिए।