काठमाडौं – फुटबल समर्थकहरु नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको छ । मार्सेका दिमित्री पायेटलाई निसका समर्थकहरुले बोतलले हिर्काएका थिए । जब पायेटले उक्त बोतल समर्थकतिर नै फर्काए, आक्रोशित भिड मैदानमा प्रवेश गरेका थिए ।
विवादको लामो समयपछि निसका खेलाडीहरुले खेल शुरु गर्न चाहेका थिए । तर, मार्सेका खेलाडीहरु मैदान प्रवेश गर्न मानेनन् । जसले गर्दा खेल रद्द गरिएको थियो । विवादअघि निसले क्यासपर डोलबर्गको गोलमा १–० को अग्रता बनाएको थियो ।
विवादका क्रममा मार्सेका केही खेलाडी घाइते भएको अध्यक्ष पाबलो लाङगोरियाले दाबी गरे । खेलाडीको सुरक्षाका लागि आफूहरु मैदानमा प्रवेश गर्न अस्वीकार गरेको उनले बताए । यसअघि लिगको पहिलो खेलमा नै मोन्टेपेलियरबिरुद्धको पहिलो खेलमा पनि मार्सेका खेलाडीहरुमाथि बोतल प्रहार भएका थिए ।