कर्णालीमा निषेधाज्ञा अवज्ञा गर्ने ६५ जना कारवाहीमा

सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज भाद्र १ गतेदेखि ५ गते राती १२ बजेसम्म जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई प्रहरीले कारवाही गरेको छ । चाडपर्व नजिकिँदै गर्दा सुर्खेतमा भीडभाड बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । साथै प्रदेशको मुगु र जुम्ला जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ।

यो समचार तयार पार्दासम्म निषेधाज्ञाको अटेरी गर्ने सुर्खेतमा १२ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए । यसै गरि उनका अनुसार २ महिला र ६३ पुरुष गरि ६५ जनालाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाह िगर्ने गरि नियन्त्रणमा दिइएको छ ।

यसैगरि जुम्लामा पनि १२ वटा सवारी साधन नियन्त्रणमा लिइएको र व्यक्तिहरुलाई भने सम्झाइ बुझाइ छोडिएको जुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताए।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भीमदत्त जोशीका अनुसार मुगुमा निषेधाज्ञाको पूर्ण पालना भएको छ । तर साँझ ४ बजेदेखि ६ बजेसम्म अत्यावश्यक सामानका पसलहर खुल्ने भएकोले पनि कसैले अवज्ञा गरेका छैनन् ।

निषेधाज्ञाको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन गरिरहेका छन्।
हरितालिका तीज पर्व सुरु हुनु अगावै मान्छेको भीडभाड बढ्ने र अनावश्यक रुपमा हुने चहलपहललाई रोक्नका लागि निषेधाज्ञा जारि गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

निषेधाज्ञाको उलङ्घन गर्नेहरुलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रशासनको भनाई छ । निषेधाज्ञाको अवधिमा दाहसंस्कार कार्यमा समेत बढिमा १५ जना सहभागी हुन पाउने व्यवस्था गरिएको छ । निषेधाज्ञाको समयमा दमकल, झण्डावाल गाडि, प्रहरी, संचारकर्मी, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन बाहेक अरुलाई आवत जावत गर्न रोक लगाइएको छ ।