सुर्खेत – कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ल्याएको ‘प्रत्येक घर स्वरोजगार’ कार्यक्रमको बारेमा बिहीबार काठमाडौँमा वृहत छलफल भएको छ । कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा कार्यक्रम कार्यान्वयनको विषयमा रहेर बैँकका सिईओहरुसँग छलफल गरिएको आर्थिक मामिला मन्त्री गोपाल शर्माले जानकारी दिए ।
कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले कर्णालीको विकास परिवर्तन नभएसम्म राष्ट्रको गरिबी अन्त्य नहुने टिप्पणी गरेका थिए । उनले भने ,‘प्रदेश सरकारले ल्याएको यो कार्यक्रम प्रदेशको गरिवीलाई घटाउने खालको कार्यक्रम हो । यसले कर्णालीको मात्र नभई देशको प्रतिनिधित्व पनि गर्ने देखिन्छ । यस्ता खालका कार्यक्रमहरुमा लगानी आवश्यक हुन्छ ।’
साथै मन्त्री शर्माले कर्णाली सरकारले ल्याएको कार्यक्रममा बैँकहरूले लगानी गर्नुपर्ने सुझाएका छन्। ‘अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश गरिब छ । यसअघि सम्म कर्णालीको बहुआयामिक गरिबी ५१ प्रतिशत रहेको थियो । राष्ट्रिय योजना आयोगले केही दिन अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार घटेर २९ दशमलव ५ प्रतिशतमा झरेको देखिन्छ,’ मन्त्री शर्माले भने,‘ कर्णालीका नागरिकलाई कृषि क्षेत्रमा जोड दिई किसानको मेलामा गई ऋण सहायता बाँड्ने र खलोमा गएर असुल गर्ने नीतिलाई अबलम्बन गरिनुपर्छ ।’
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रमलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्न सके समग्र प्रदेशको गरिबी दरलाई न्युनिकरण गर्न सकिने विश्वास व्यक्त गरे ।
‘यो कार्यक्रमले अबको केही वर्षमै कर्णालीको गरिवीलाई शून्यमा झार्न सकिन्छ,’, उनले भने,‘ त्यसका लागि लगानी आवश्यक छ ।’ शाहीले कर्णालीमा ऋण लगानी गर्न बैँकहरूलाई आग्रहसमेत गरे । ‘अन्य कामको जिम्मेवारी प्रदेश सरकारले लिन्छ,’ शाहीले भने,‘ तपाइँहरु ऋण लगानी मात्र गरि दिनुहोस् । हामी भौतिक पुर्वाधार, कृषि तथा पशु बीमा उत्पादीत बस्तुको बजारीकरण जस्ता कुरा हामी लाग्छौं ।’
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका उपकार्यकारी निर्देशक समता पन्त, एनएमबी बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, प्राइम कमर्सियल बैंकका संचालक गजेन्द्र विष्ट, मेगा बैंकका एसएमई कर्जा प्रमुख जनक भट्टराई, ग्लोबल आइएमई बैंकका सुरेन्द्र रेग्मी, नबिल बैंकका लीला प्रसाद ओझा लगायतले कर्णाली सरकाले ल्याएको कार्यक्रमको प्रशंशा गरेको कर्णालीका अर्थ मन्त्री शर्माले जानकारी दिए ।
उनले भने ,‘ उहाँहरुले प्रदेश सरकारबाट कर्जा सुरक्षणको सुनिश्चितता र भौतिक पूर्वाधार उपलब्ध भएमा लगानी गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ।’ ratopati