जर्मनीले अफगानिस्तानलाई आर्थिक सहयोग रोक्ने

एजेन्सी – जर्मनीले अफगानिस्तानलाई दिँदै आएको विकास सहायता रकम रोक्ने निर्णय गरेको छ ।

जर्मनीका विकास मन्त्री गर्ड मुलरले अफगानितानमा तालिवान सत्तामा पुगेपछि बिकास सहायता रोक्ने निर्णय भएको जानकारी दिनुभयो । अफगानिस्तानको ठूला दाताको रुपमा रहेको जर्मनीले यसअघि अफगानिस्तानलाई वार्षिक ५ सय ६ मिलियन अमेरिकी डलर अफगानिस्तान पठाउने सहमति भएको थियो ।

उक्त रकम स्थानीय प्रहरी बलको तालिम, न्याय प्रणाली तथा महिलाको हक अधिकार सुनिश्चित गर्न र भ्रष्टाचार विरुद्धको अभियानमा खर्चिने पनि सहमति थियो ।

मुलरले अफगानिस्तानबाट जर्मनी फिर्ता हुन चाहने स्थानीय विकास अधिकारी र गैर–सरकारी संस्थाका कर्मचारीलाई ल्याउने पहल भइरहेको जानकारी पनि दिनुभयो ।

काबुलमा रहेका जर्मन नागरिकलाई सेनाको नेतृत्वमा उद्धार गर्ने अभियान जारी रहे पनि स्थलगत कठिनाइका कारण ढिला भएको उहाँको भनाइ छ ।