अफगानिस्तानको टिभी च्यानलमा महिलाले लिइन् तालिबानको सदस्यसँग अन्तरवार्ता

एजेन्सी – अफगानिस्तान तालिबानको नियन्त्रणमा आएपछि महिलाहरू सार्वजनिक स्थानमा आउन कठिन हुने आँकलनकाबीच एक टिभी च्यानल टोलो न्युजमा महिला प्रस्तोताले तालिबानका सदस्यको अन्तरवार्ता लिएकी छिन्।

तालिबानले आइतबार काबुल कब्जा गरेपछि त्यहाँका सबै टेलिभिजन च्यानलहरूमा महिलाहरूको उपस्थिति लगभग बन्द गरिएको थियो। अफगानिस्तानको सरकारी टेलिभिजन च्यानलमा देखिएको उक्त तस्वीरमा एक पुरुष तालिबानी झण्डाको सामुन्ने बसेका थिए।

मंगलबार टोलो न्युजका प्रमुख मिराका पोपालले एउटा ट्वीट शेयर गरेका छन्। जसमा एक महिला प्रस्तुतकर्ताले स्टुडियोमा तालिबानको मिडिया टोलीका एक सदस्यको प्रत्यक्ष अन्तरवार्ता लिइरहेकी छिन्।

त्यसपछि उनले अर्को तस्वीर शेयर गरेका छन्। जसमा हिजाब लगाएको महिला समाचार कक्षमा बिहान सबेरै बैठक गरिरहेको देखिएको छ।

टोलो न्यूजका मालिक मोबिग्रुपका निर्देशक साद मोहसेनीले पनि ती तस्वीर सेयर गरेका छन्। उनले अफगानिस्तानको सडकबाट रिपोर्टिङ गरिरहेका महिला रिपोर्टरको तस्वीर सेयर गरेका हुन्।

अफगानिस्तान तालिबानले कब्जा लिएपछि महिलाहरूमाथि सार्वजनिक स्थानमा प्रतिबन्ध हुने सम्भावना सबैभन्दा ठूलो चिन्ताको विषय बनिरहेको बेला यी तस्वीर सार्वजनिक भएका हुन्। तालिबान कट्टरपन्थी इस्लाममा विश्वास गर्छन्। उनीहरू महिलाहरूलाई प्रतिबन्धको वकालत गर्दै आएको विश्वास गरिन्छ।

२० वर्ष पहिले अफगानिस्तानमा सत्तामा आएपछि उनीहरुले महिलालाई धेरै बिषयमा प्रतिबन्ध लगाए। काबुलका सार्वजनिक स्थानमा रहेका महिलाको पोष्टर हटाउन समेत सुरू गरिएको थियो।