कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा

सुर्खेत – सोमबारबाट कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगु जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

निषेधाज्ञाको बारेमा अनुगमन गर्न सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी आफै फिल्डमा खटिएका छन् । निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न गराउन र कार्यान्वयनको अवस्था हेर्न प्रमुख जिल्ला अधिकारी आफैँ फिल्डमा खटिएका हुन् ।

सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा सोमबारदेखि निषेधाज्ञा लागू भएको छ । रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा समेत बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भीडभाड अत्याधिक बढेपछि साउन २९ गते बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकबाट वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रजिअ रेग्मीले बताए ।

सुर्खेतको भेरीगंगा, गुर्वाकोटा र लेकवेशी नगरपालिकामा समेत आवश्यक परेमा निषेधाज्ञा गर्न सकिने सरोकारवालाहरु बताउँछन् । यद्यपि, बराहताल, पञ्चपुरीमा भने वीरेन्द्रनगरमा गरिएको निषेधाज्ञाले आवतजावत नियन्त्रणमा आउने प्रजिअ रेग्मीको भनाई छ । थाहा नपाएर बाहिर निस्कनेलाई सुरुमा सम्झाउने तर, अटेर गर्ने र जारी आदेशको उलङ्घन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ र संक्रमण रोग ऐन, २०२० बमोजिम कारवाही गरिने प्रजिअ रेग्मीले बताए ।

यसैगरी सुर्खेतको भेरीगंगा नगरपालिकामा समेत कोरोनाको संक्रमण फैलिन नदिन बजार बन्द गरिएको उप–प्रमुख रेणु आचार्यले जानकारी दिइन् । साउन ३२ गते नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले भदौ १ गते सोमवार ५ बजेदेखि भदौ ५ गते राती १२ बजे सम्म लागू हुने गरी अत्यावश्यक सेवा बाहेकका अन्य बजार बन्द गरिएको उनले बताइन् ।

यस संगै कर्णाली प्रदेश प्रवेशमा कडाई गरिएको छ । पास लिएर कर्णाली प्रवेश गर्ने व्यक्तिहरूलाई समेत तीन दिन अगाडीको पिसीआर रिपोर्ट अनिवार्य गरिएको छ । कर्णाली प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे र कपुरकोट लगायतका सीमा नाकामा पिसीआर रिपोर्ट जाँच गरिनेछ ।