कांग्रेसमा संस्थापनइतर समूह : विशेष महाधिवेशन गरौं ! संस्थापन समूह भन्छ : हुँदैन

काठमाडौँ – क्रियाशील सदस्यता छानबिनमा भएको ढिलाइका कारण गाउँरनगर र वडा अधिवेशन स्थगन भएपछि नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्योलमा परेको छ। भदौ १९ सम्म महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा रहेको कांग्रेसमा अहिले विशेष महाधिवेशन गर्नुपर्ने विषयले प्रवेश पाएको छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा संस्थापनइतर समूहले विशेष महाधिवेशन गर्नुपर्ने बताएको हो।

बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशन केन्द्रित छलफलमा विशेष महाधिवेशनको कुरा उठेको पुष्टि गरे। तर, उनले सो माग राख्ने नेताहरुको नाम भने खुलाएनन्।स्रोतका अनुसार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले विशेष महाधिवेशनको माग राख्दै आएका छन्। उनको मागमा वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सकारात्मक देखिएका स्रोतको दाबी छ। केसीले २०१४ सालको नजिर देखाउँदै सोहीअनुसार बढीमा एक वर्षका लागि विशेष महाधिवेशन गरेर संवैधानिक संकट टार्नुपर्ने धारणा राख्दै आएका छन्।

इतर समूहले उठाएको विषयलाई संस्थापन समूहले भने महाधिवेशन नगर्ने नियतले अघि सारिएको प्रस्तावको रुपमा अथ्र्याएको छ। संस्थापन समूहले महाधिवेशनको तयारी भइसकेका कारण अहिले आएर विशेष महाधिवेशन हुन नसक्ने प्रष्टीकरण दिएको छ। ‘विशेष महाधिवेशन गर्ने कुरा पनि उठे। महाधिवेशन नहोस् भन्ने पनि छन्,’ सहमहामन्त्री डा। महतले भने, ‘यतिका कुरा भइसकेपछि विशेष महाधिवेशन भन्ने हुँदैन।’

निर्धारित मितिमै महाधिवेशन गर्न कांग्रेसमा विकल्पहरुको खोजी भइरहेको छ। सभापति देउवा र वरिष्ठ नेता पौडेलले निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। बुधबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि पनि पौडेलले महाधिवेशन नसर्ने जिकिर गरे।

कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो। उक्त कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँरनगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते भनिएको थियो।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो। तर, गत शनिबार बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले साउन १२ गते हुने भनिएको गाउँ÷नगर वडा अधिवेशन स्थगित गरेको थियो।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता छानबिन समितिले सभापति देउवालाई प्रतिवेदन बुझाइसकेपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर नयाँ कार्यतालिका निर्धारण गर्ने बताएका थिए। समितिले मंगलबार पार्टीलाई प्रतिवेदन बुझाइसकेको छ। तर, पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानको जिम्मा फेरि छानबिन समितिलाई नै दिएको छ।