कर्णालीमा पाँच जना कोरोना संक्रमित थपिदा ५५ जना डिस्चार्ज

सुर्खेत – कर्णाली प्रदेशमा शुक्रबार ५५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने पाँच जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पाँच जना कोरोना संक्रमित थपिएका हुन् । कोरोना संक्रमित हुनेमा सान्नी त्रिवेणी गाउँपालिका ३० वर्षीय पुरुष, २२ वर्षीया महिला, २७ वर्षीया महिला, रास्कोट नगरपालिकाका २२ वर्षीया पुरुष र रामेछाप खाँडादेवी गाउँपालिका १ का ३० वर्षीय पुरुष रहेको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत कृष्णा भट्टराईले बताइन् । ‘कर्णाली प्रदेशका बिभिन्न प्रयोगशालामा २३३ जनाको स्वाव परीक्षण गरिएको थियो ।’ ,उनले भनिन्, ‘त्यसमध्ये ५ जनाको मात्र कोरोना संक्रमण देखिएको छ ।’

योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ६५ पुगेको भट्टराईले जानकारी दिइन् । कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट ५५ जना कोरोना संक्रमण निको भएर घर फर्किएको भट्टराईले बताइन् । ‘कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार ६ सय ६३ रहेको छ ।’ उनले भनिन्, ‘हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ९६ जना मात्र रहेका छन् ।’