नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन सकेनन्: दिनानाथ शर्मा

फाईल फोटो

काठमाडौं – नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन नसकेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले नेपालका राजनीतिक दलहरुको लोकतान्त्रिक चरित्र हुन नसक्दा राजनीतिक संकट पैदा भएको बताए ।

उनले लोकतन्त्र भनेको माला जप्ने विषय नभई व्यवहारमा प्रस्तुत गर्नुपर्ने बताए । लोकतन्त्रका फरक मतको पनि सम्मान गर्नुपर्ने भएपनि नेपालमा केवल आफ्नो गुटको मात्रै कुरा सुनेर अगाडी बढ्दा समस्या पैदा भएको उनले उल्लेख गरे । उनले ‘साच्चै नेपालमा हाम्रो चरित्र लोकतान्त्रिक बनेको रहेनछ । लोकतन्त्रको निम्ति संघर्ष ग¥यौँ । लोकतन्त्रको लागि रगत, पसिना पनि बगायौँ । तर हामी दलहरुमा लोकतान्त्रिक चरित्र निर्माण भएको रहेनछ । लोकतन्त्र भनेको कुनै माला होइन, जप्ने माला होइन । व्यवहार हो । यो अभ्यास हो । लोकतन्त्र बलियो हुन पार्टी भित्रको लोकतन्त्र व्यवस्थित हुनुपर्छ । पार्टी भित्रको भिन्न मतलाई सम्मान गर्न सक्नुपर्छ । आदर गर्न सक्नुपर्छ ।’

शर्माले नेपालको राजनीतिक प्रणाली संविधान र संसदको सर्वोच्चतामा आधारित भएको भन्दै संविधानलाई विघटन गरेर र संविधानको धाराहरुको खिल्ली उडाएर लोकतन्त्र र संविधानलाई समाप्त पार्न खोजिएको बताए । उनले प्रतिगमनको कालो बादल मडारिएको टिप्पणी गरे ।