बाँके र बर्दिया गरी आज ४२ जनामा संक्रमण पुष्टि, अनावश्यक हिड्डुल गर्नेलाई क्वारेन्टाईन

नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बिहिबार बाँकेका २८ र बर्दियाका १४ गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले बाँकेका १६ जनामा संक्रमण पुष्टि भएको फेसबुक स्टेट्समा लेखेका थिए ।
यसैगरी, बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर राना आफै बजारमा निस्केर पसल खोल्ने र अनावश्यक हिड्नेलाई समात्न थालेका थिए ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ र एसपी रानाको टोलीले न्यूरोडबाट पसल खोलेका, अटोरिक्सा र मोटरसाईकल चलाएका केही व्यक्तिहरुलाई समातेर प्रहरीको भ्यानमा राखी क्वारेन्टाईन स्थल पुर्याएका थिए ।
यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता कृष्ण खत्रीका अनुसार अहिले कुन–कुन स्थानबाट कति जनालाई क्वारेन्टाईन लगिएको हो, जानकारी भएको छैन, हाल पनि अनावश्यक हिड्डुल गर्नेलाई समात्ने कार्य जारी रहेको हुदा पूर्ण जानकारी आएपछि उपलब्ध गराउने बताए ।