दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले ल्यायो ४५ करोडभन्दा बढीको बजेट

सुर्खेत – दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०७८ / ०७९ लागि ४५ करोडभन्दा बढीकाे बजेट ल्याएको छ ।

बिहीबार नवौँ नगर सभामार्फत् आगामी आर्थिक वर्ष ०७८र७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख तारा शाहीले ४५ करोड ३ लाख ३९ हजार ३२ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारिएको छ । कृषि क्षेत्रमा एक वडा एक नर्सरी, मकै पकेट क्षेत्र, भैंसी तथा दुग्ध प्रवर्धन जस्ता थुप्रै कार्यक्रम अघि सारिएको छ । यस्तै एक टोल एक खेल मैदान निर्माण गर्ने, आयमुलक जैविक मैत्री हरियाली सडक निर्माण गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरिएको छ ।

वडा नम्बर ६ को लैनचौरलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने, नगर बसलाई दुल्लु नगरपालिकासम्म विस्तार गर्ने साथै बहुप्राविधिक शिक्षालयको नीतिलाई अघि सारिएको छ ।

उपप्रमुख शाहीले कोरोना रोकथाम तथा न्यूनीकरणसँगै विकास निर्माणका कामलाई समेत अघि बढाएको बताउनुभएको छ ।