खाना खोज्दै हात्ती भान्छामा छिर्‍यो

एजेन्सि – गत आइतबार बिहान पश्चिमी थ्याइल्यान्डको कैंग क्राचन राष्ट्रिय निकुञ्ज नजिकैको गाउँमा घर भएका कित्तिचाइ बुडचन ठूल्ठूलो आवाजले ब्युँझिए।

के भएको रहेछ भनेर खोज्दै जाँदा उनले एउटा हात्तीले आफ्नो घरको भान्छामा सुँड घुसाएको देखे।

बोन्चुय नामको भाले हात्ती उनको भान्छामा खानेकुरा खोजिरहेको थियो। भान्छामा सुँड घुसाएको हात्तीले भान्छामा भएका सामानहरू भुइँमा खसालिदिएको थियो।

हात्तीको चर्तिकला देखेर उनी हैरान भए तर हात्तीलाई अवरोध गरेनन् बरू मोबाइलमा भिडिओ खिचे।

ऊ फेरि खाना पकाउन आयो’ भनेर उनले उक्त भिडिओ सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।

भिडिओमा हात्तीले किचनको र्‍याकमा भएका सामान खोजिरहेको छ। त्यहीबीचमा प्लास्टिकमा बेरेको सामान उसले खान्छ।

हात्ती भान्छामा छिरेको घटना अहिले संसारभरिका सञ्चारमाध्यममा समाचार बनेको छ।

अधिकारीहरूका अनुसार बोन्चुय नामको भाले हात्ती गाउँ पसेको यो पहिलो पटक भने होइन।

‘हात्तीहरू प्रायस् गाउँ आइरहन्छन्। बजार लागेको बेला तिनीहरू खानेकुराको बासना थाहा पाएर आउने गर्छन्,’ निकुञ्जका सुपरिटेन्डेन्ट इत्थिपोन थाइमोन्कोलले भने।

बुडचनले यसअघि पनि हात्ती आफ्नो घरमा आइसकेको बताए। खानेकुरा खोज्दै आउने हात्ती खानेकुरा पाएपछि फर्किने गरेको उनले बताए।