कोरोनाको त्रासमा बाँचिरहेका नेपालीलाई जेठको अन्तिम सातादेखि देशमा शुरु भएको झरीले फेरी सास्ती दिइरहेको छ । मनसुन सक्रिय हुनासाथ पहाड बाढीपहिरोको चपेटामा परेको छ भने तराईका खेतवस्तीहरु डुबान र नदि कटानमा परिरहेका छन् । मनसुन शुरु भएपछिका एक साताकोे अवधिमै देशमा भएका बाढी पहिरोका घटनामा १७ जनाले ज्यान गुमाइसकेका छन् भने २२ जना भन्दा बढि बेपत्ता छन् । सिन्धुपाल्चोक र मनाङका दर्दनाक तस्विरहरुले मानिसहरुलाई त्रसित बनाएका छन् । संचार माध्यममा दिनहु जसो बाढी, पहिरो र डुबानको कारणले धनजनको क्षति भैरहेको खबरहरु आइरहेका छन् । नदि कटान, डुबान, पहिरो र बाढीले खेतीयोग्य जमिन, घर, सडक, पूलपुलेसा र अन्य भौतिक संरचनाहरुमा क्षति पुगिरहेको छ । मौसम विभागले यो वर्ष बढी वर्षा हुने र बाढी पहिरोका घटनाहरु बढ्ने पूर्वानुमान गरि सचेत र सुरक्षित रहन सुचना गरिरहेको छ । यो अवस्थालाई हेर्दा यो वर्ष नेपाल र नेपालीहरुले मौषमजन्य प्राकृतिक प्रकोपको कारणले गत वर्ष भन्दा धेरै क्षति भोग्नुपर्ने अनुमान छ ।
हरेक प्राकृतिक प्रकोपबाट क्षति भएपछी मानिसहरुले प्रकृतिसंग आक्रोश पोख्ने गर्दछन् । “प्रकृति विषम भयो, प्रकृति बौलायो,दैवले आँखा लगाए ” जस्ता टिप्पणीहरु पिडित र अन्य मानिसहरुले गरेको देखिन्छ । हरेक प्राकृतिक प्रकोप पछिका आवाजहरु सुन्दा प्रकृति नै प्रतिकुल भएकोले क्षति पुगेको हो भन्ने लाग्छ । प्राकृतिक मौषमी चक्र प्रतिकुल भएकोले मात्र प्राकृतिक विपत्तिहरु उत्पन्न भएका हुन भन्ने कुरा मानिसले आफु पानीमाथि ओभानो हुन खोज्नु बाहेक अरु केहि पनि हैन । नेपालमा हरेक वर्ष दोहोरीरहने प्राकृतिक प्रकोप र त्यसबाट हुने क्षतिको अध्ययन गर्दा प्राकृतिक प्रकोपहरु बढ्नु र त्यसबाट धेरै क्षति हुनुमा मानिसका व्यवहारहरुले मुख्य भूमिका खेलेको देखिन्छ । खासगरी जल. जमिन र जंगलको उपयोगको सन्दर्भमा मानिसको बदनियत, लापरवाही र हेलचेक्र्याईपूर्ण कार्यहरुले प्राकृतिक प्रकोपको उत्पत्ति र विनाशलिलामा सघाइरहेका छन् ।
नेपालको पहाडी क्षेत्रमा पछिल्ला वर्षहरुमा पहिरोका प्रकोपहरु बढिरहेका छन् । पहाडी क्षेत्रको भुबोट कमजोर भएकोले धेरै पहिरो जाने सम्भावना भएपनि धेरै पहिरो जानुमा मानवीय क्रियाकलापहरु मुख्य जिम्मेवार छन । ५० को दशक देखि पहाडका हरेक वस्तीहरुमा सडक पु¥याउने होडबाजी चलेको छ । विस्तृुत वातावरणिय प्रभाव मुल्यांकन नगरी डोजरको प्रयोग गरेर अन्धाधुन्द ढंगले बाटो खन्दा पहाडी क्षेत्रका कुलो, खोल्सा र पानीका मुलहरु पुरिदै गएका छन् । सानो बजेटमा बनाइएका सडकहरुमा पानी निकासको नालाहरु नबनाइने भएकोले वर्षातको पानी कच्ची सडकबाट बगेर पहाडको कमजोर जमिनलाई बगाउने गरेको देखिन्छ । यहि साता चामेमा गएको पहिरोलाई यसको उदाहरणको रुपमा हेर्न सकिन्छ । सडक जस्तै घर लगायतका अन्य भौतिक संरचना निर्माण गर्दा जमिनको अवस्था, भिरालोपन , जंगलको अवस्था र पानीको निकासको व्यवस्था जस्ता पक्षहरुलाई बेवास्ता गर्ने परम्परा बनिसकेकोले पहाडी क्षेत्रमा पहिरोका घटनाहरु बढिरहेका छन्् । ६ वर्ष अघि महाभूकम्पले पहाडी क्षेत्रमा चिराचिरा पारेकोले यो वर्ष पनि ति ठाँउमा वर्षातको पानी पस्नाले पनि पहिरोको समस्या बढी हुने अनुमान गर्न सकिन्छ ।
चुरेमा बढिरहेको मरुभूमिकरणको कारणले खोलाको सतह माथि उठ्नु र भारतले सिमा क्षेत्रमा बाँध बनाएको कारणले मात्र तराई डुवानमा परेको हैन, तराईका वस्तीहरुमा जलनिकासमा अवरोध उत्पन्न गरिएकोले धेरै गाँउवस्तीहरु डुबानमा पर्ने गरेका छन् । तराईका जिल्लाहरुमा जस्तै उपत्यकामा पनि मानव बसोबासयोग्य सबै ठाउका पानीका पुराना निकास पुरिएका छन् , खोलाहरु साघँुरिएका छन् । खासगरी शहर र नगरोन्मुख क्षेत्रमा प्लटिंग गर्दा कतिपय कुलाहरुको नामोनिशान नै मेटाइएको छ । घना वस्ती हुदै गएका गाँउतिर गएका कुलाहरु फोहरमैलाले गर्दा पुरिएका छन् र साघुरिएका छन् । यी कारणले गर्दा वर्षातको समयमा अलिकति बढी पानी पर्ने वित्तिकै ति क्षेत्रहरु डुबानमा पर्ने गरेका छन् । त्यसको प्रत्यक्ष अनुभाव गत वर्ष नेपालगंजले गरिसकेको छ।
दोष कसको?
नेपालमा अव्यवस्थित वस्ती विकासको क्रममा पुराना कुला, झरन र नालाहरु पुर्ने क्रमले तिब्रता पाएको छ । भूमाफिया, स्थानीय सरकार, कर्मचारी र नापी कार्यालयका कर्मचारीको मिलेमतो पानीका निकसहरु पुरेर प्लाटिंग गर्ने कामलाई बैधानिकता प्रदान गरिएको छ । कुलो साघुरो बनाएर भौतिक निर्माण गर्ने होडबाजी स्थानीय वासिन्दामा पनि देखिएको छ । अहिले कतिपय स्थानीय सरकारहरुले समेत सडक चौडा पार्ने नाममा खोला, नहर र कुलोहरु पुरेर निर्माण कार्य अघि बढाइरहेका छन् । पहाडी क्षेत्रमा कमजोर भूभाग डोजरले भत्काएर बाटो बनाउने काममा जनप्रतिनिधिहरु नै अघि सरिरहेका छन् र सुविधा पाउने लोभमा स्थानीय वासिन्दाले त्यसलाई सघाइरहेका छन् ।सडक खन्दा कमजोर बनेकै जमिन खनेर र खोल्साहरु पुरेर घर बनाउने क्रम पनि पहाडी क्षेत्रमा बढिरहेको छ । यसले विपदको ग्राफलाई हरेक वर्ष माथि उठाइरहेको छ।
वर्खायाम पछि पहिरो, डुबान र नदि कटानको समस्या मान्छेहरुले विस्तारै बिर्सनेछन् । मान्छेहरुले विर्सेपनि समस्याले भने विर्सनेछैन । अहिलेभन्दा विकराल समस्या अर्को साल नहोला भन्न सकिदैन । अहिलेको जस्तो प्राकृतिक बिपत्ति अर्को साल नआओस भन्नको लागि अहिले देखि नै साबधानी अपनाउनु पर्छ । खोला नदीका जलाधार र वहाव क्षेत्रमा भैरहेको दोहन र अतिक्रमणलाई तुरुन्तै रोकेर नदीको पुरानो बहाव मार्ग कायम गरिनु पर्छ । डुबान रोक्नको लागि पुराना सबै कुलो, खोल्साहरुको नक्सांकन गरि त्यहाँ भैरहेका भौतिक निर्माणलाई तुरुन्तै हटाउनेर नयाँ निर्माण गर्न रोक लगाउने नीति बनाएर कडाइकासाथ लागु गर्नु पर्दछ ।
पहाडी क्षेत्रमा जसरि भएपनि सडक पु¥याउने भन्ने अन्धविकासबादी सोचमा परिवर्तन गरेर हरित सडक निर्माणलाई जोड दिनु पर्दछ । जति नै सुगम र अवसरयुक्त ठाउँ भए पनि बाढी र पहिरो आउन सक्ने तथा जोखिमपूर्ण भनि पहिचान गरिएका ठाँउमा बसोबास गर्नु हुदैन भन्ने कुरालाई सबैले मूल मन्त्र मान्नु पर्दछ । प्रकृति बहुलाउन्न, बहुलाउन बाध्य पार्ने मानिस नै हो भन्ने कुरा सबैले बुझेमा जीवन र सम्पत्तिलाई प्राकृतिक विपत्ति बाट अवस्यपनि सुरक्षित राख्न सकिनेछ ।