कर्णालीका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत – नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल तीन मन्त्रीहरुलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई मन्त्रीबाट राजीनामा दिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

तीनै जनाले वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिई मन्त्री बनेका थिए । अदालतको अन्तरिम आदेशपछि पुनर्वहाली भई एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बारबार आमन्त्रण गर्दांसमेत उनीहरु उपस्थित भएका थिएनन् ।

माओवादी केन्द्र नेतुत्वको सरकारमा सामेल भई आफ्नो पार्टीको निर्णय नमानेको भन्दै तत्काल राजीनामा दिएर दलको बैठकलगायत गतिविधिमा समेल हुन निर्देशन दिइएको छ ।