रोनाल्डोको सानदार सुरुवात

एजेन्सी – साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।

पुस्कास एरिनामा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

राफायल गुइरेरोको नाममा एक गोल रह्यो ।

घरेलु टिम हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र तीन गोल व्यहोर्यो ।

खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए ।

८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

हंगेरीका विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डोले सहजै गोल गरे ।

त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए । उनले राफा सिल्भाको पासलाई सदुपयोग गरे ।

हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् ।

३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

रोनाल्डोले यस अघि चार संस्करणको युरोकप खेलिसकेका छन् । रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।

यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बने । रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको तीन संस्करणमा क्रमश १,३ र ३ गोल गरेका छन् ।

यस जितसँगै समूह एफु मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ ।

हारबाट प्रतियोगिताको सुरुवात गरेको हंगेरी पुछारमा रहेको छ ।

#खेलपाटी संवाददाता