नहरमा बालुवा थुप्रिँदा विद्युत् उत्पादन अवरुद्ध

प्रतीकात्मक तस्बिर

जाजरकोट – जैरीगाड जलविद्युत् आयोजनाको नहरमा बालुवा थुप्रिँदा डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध भएको छ।

एउटा मात्र टर्बाइनबाट सञ्चालनमा रहेकाले विद्युत् सेवा सोमबार बिहानदेखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए। दुईवटा टर्बाइनमध्ये एउटा लामो समयदेखि बिग्रिएको छ। एउटा मात्र सञ्चालन हुँदा सदरमुकाममा विद्युत् आपूर्ति गर्न सकेको छैन। अहिले विद्युतको नहरमा बालुवा भरिएपछि एक मात्र टर्बाइन समेत बन्द गर्नु परेको हो। टर्बाइन थप्न नेपाल विद्युत प्राधिकरणमा माग गरे पनि सुनुवाइ नभएको सरोकारवालाहरुको गुनासो छ।

विद्युत् सेवा अवरुद्ध भएसँगै स्वास्थ्य सेवा कार्यालय र अन्य ठाउँमा समस्या भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए। स्वास्थ्य सेवा कार्यालयले ४० केभिएको जेनेरेटर खरिद प्रक्रियामा रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पामा प्रमुख अमरसिंह शाहीले बताए। केन्द्रीय प्रशारण लाइन नपुगेको डोल्पामा जैरीगाड जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत् वितरण हुँदै आएको छ। २०० किलोवाट क्षमताको यो आयोजनाबाट यहाँका १ हजार २५० घरधुरीले सेवा लिने गरेका छन्।

दुई वर्षअघि यस आयोजना ६ महिना अवरुद्ध भएको थियो। विद्युतको नहरमा ६० मिटर सुक्खा पहिरो जाँदा विद्युत उत्पादन बन्द भएको थियो। नेपाल विद्युत प्राधिकरणको ५५ लाख रुपैयाँ लागतमा भत्केको नहर मर्मत गरेको थियो।