जी–७ राष्ट्रहरुले गरिब देशलाई एक अर्ब डोज खोप दिने

एजेन्सि –  धनी राष्ट्रहरुको समूह जी ७ देशका नेताहरुले आगामी वर्षभित्रमा गरिब देशहरुका लागि १ अर्ब डोज खोप दिने घोषणा गरेका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जी–सेभेनका नेताहरु १ अर्ब खोप दिन तयार भएको बताएका छन्। जी–सेभेनका नेताहरु महामारीको समयमा ‘राष्ट्रवादी’ वा स्वार्थी प्रवृत्तिबाट माथि उठेर खोप सहयोगका लागि तयार भएको उनले बताएका हुन्। यो खोपमध्ये केही कोभ्याक्स कार्यक्रमबाट र केही सिधै सहयोग गर्ने जी–सेभेन देशहरुको तयारी छ।

बेलायतमा जारी जी–सेभेनको बैठकमा चीनमा मानव अधिकार रक्षाका सवालमा पनि छलफल भएको छ। चीनको शिनजियाङ क्षेत्रमा मानव अधिकारको रक्षा, हङकङमा धेरै स्वायत्तता प्रदान गर्ने विषय र पूर्वी र दक्षिणी चीन सागरमा जारी अस्थिरताका विषयमा जी–सेभेन नेताहरुले चासो व्यक्त गरेका हुन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो विषयमा जी–सेभेनका नेताहरुले एक वक्तव्य सार्वजनिक गर्ने तयारी गरेका छन्। चीनको शिनजियाङ क्षेत्रमा रहने विगर मुसलमानको मानवअधिकार रक्षाका विषयमा लामो समयदेखि चीनको आलोचना हुँदै आएको छ। चीनका विषयमा जी–सेभेन बैठकमा धेरै चर्चा भएपछि हिजो चीनले जी–सेभेन देशले विश्वको ठेक्का लिन नसक्ने बताएको थियो।