एजेन्सि – चीनले जी–७ देशका नेताहरुलाई चेतावनी दिँदै सीमित देशले विश्वको भविष्यका बारेमा निर्णय लिने दिन गएको बताएको छ ।
लन्डनमा चिनियाँ दूतावासका प्रवक्ताले भन्नुभयो, ‘कुनै पनि देश चाहे ठूलो होस् या सानो, बलियो होस् या कमजोर, गरिब होस् या धनी, सबै बराबर छन् र विश्वव्यापी मामिलामा सबै देशसँग विचार–विमर्श गरिसकेपछि मात्र त्यसको समाधान खोज्नुपर्छ ।’
जी–७ देश चीनको सामु आफैँलाई एकजुट देखाउने प्रयास गरिरहेका बेला चीनले यस्तो चेतावनी दिएको हो ।
जी–७ देशमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका रहेका छन् ।
बेलायतको कर्नभेलमा भएको यस शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना महामारीका कारण विश्वमा लोकतान्त्रिक देश र तानाशाही व्यवस्था भएका देशबीच सङ्घर्षको स्थिति बनेको बताउनुभएको आफ्ना संवाददातालाई उद्धृत गर्दै बीबीसीले भनेको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा लगातार बलियो देखिएको छ चीन
शीत युद्धका क्रममा सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि विश्व समुदायमा चीन एक महाशक्तिका रुपमा उदाउनुलाई अहिलेको दशकमा सबैभन्दा ठूलो विश्व घटनाक्रमका रुपमा हेरिने गरिएको छ ।
चीनले गएका केही दशकमा विश्वभर नै आफ्नो प्रभाव बढाएको छ ।
उसले आफ्नो बेल्ट एन्ड रोड इनिशिएटिभ अनुसार विश्वकै केही विकासशील देशमा ठूलो मात्रामा लगानी गरेको छ ।
गएको चार दशकमा चीनले निकै ठूलो सैन्य र आर्थिक शक्ति हासिल गरेको छ । चीनका राष्ट्रपति सी जिनपिङको कदमलाई कसरी जवाफ दिइने भन्नेबारेमा पनि जी–७ को बैठकमा चर्चा भइरहेको छ ।
बेलायतमा सात देशका राष्ट्राध्यक्ष तीन दिवसीय सम्मेलन गरिरहेका छन् ।
पश्चिमी देश चीनको प्रभाव कम गर्न सम्मेलनले बलियो विकल्प पेस गरेको देख्न चाहन्छन् ।
जी–७ देश चीनको अरबौँ डलरको बेल्ट एन्ड रोड इनिसिएटिभको विकल्पको रुपमा विकासशील देशका लागि योजना बनाउने काम गरिरहेका छन्