सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले संसदमा सहभागी सदस्यले दलको ह्वीप बमोजिमको आचरणमा बस्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै नेता कँडेलले यस्तो बताउनुभएको हो।
‘ उहाँले भन्नुभयो संसदमा दुईवटा एमाले छैन र हुँदैन, मन लागेको ठाउँमा बस्न पाउने दलीय व्यवस्था छैन, त्यो अभ्यास शोभनीय पनि छैन,’ अदालतको फैसलाले पुनर्बहाली गरिसकेपछि दलको ह्वीप मान्नुपर्ने हुन्छ, सोही बमोजिमको आचरणमा बस्नुपर्ने हुन्छ ।’
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाइई नेकपा एमालेले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए । तर त्यसविरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार सुनुवाइ गर्दै उनीहरुको प्रदेश सांसद पद थमौती गरेको थियो।
यस्तै नेता कँडेलले भन्नुभएको छ ‘अदालतको निर्णय प्रति हामीले सम्मान गर्नुपर्छ, तर संसदभित्र दुईवटा एमाले हुनु हुँदैन, ‘दलीय आचरण मान्नु सांसदहरुको कर्तव्य हो ।’